9851020049   chandradhakal49@gmail.com

 

चन्द्रप्रसाद ढकाल

२०२४ साल जेठ २८ गते अर्थात् आजकै दिन पाल्पाको साविक देउराली गाविस–४ दम्बक एवम् हालको रिद्धिकोट गाउँपालिका–३ मा पिता होमनाथ ढकाल र स्वर्गीय डोलकुमारी ढकालको ज्येष्ठ सुपुत्रका रुपमा जन्मिनुभएका चन्द्र प्रसाद ढकाल अग्लो व्यक्तित्वका रुपमा सहकारीवृत्तमा परिचित हुनुहुन्छ । नवलपरासी वर्दघाट सुस्ता पश्चिम वर्दघाट नगरपालिका–१ माकर स्थायी बसोवास रहेका ढकाल हाल काठमाडौं महानगरपालिका वडा नं ४ धुम्बाराहीमा २ छोरा र श्रीमतिका साथ बस्दै आउनुभएको छ । २०५३ सालबाट सहकारी जीवन आरम्भ गर्नुभएका उहाँको यो यात्रा करिब २५ वसन्त प्रवेशको संघारमा छ । ढकालको प्रारम्भिक संस्था वर्दघाटस्थित सुपर बचत तथा ऋण सहकारी संस्था हो जो नेफ्स्कूनको गुणस्तर सुनिश्चितता अन्तर्गत पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (PROBATION) र एशियाली ऋण महासंघ (ACCU) को गुणस्तर सुनिश्चितता अन्तर्गत एक्सेस (A1 Competitive Choice for Excellence in
Service and Soundness) सँग हाल आबद्ध छ ।

राष्ट्रिय सहकारी महासंघको निवर्तमान सञ्चालक समेत रहिसक्नुभएका ढकालको वित्तीय सहकारीको एक मात्र छाता संगठन–नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिं (नेफ्स्कून) को यात्रा लेखा समिति सदस्य, संयोजक र महासचिव हुँदै पछिल्लो समय बरिष्ठ उपाध्यक्षमा उक्लिएको छ । नेफ्स्कूनको २८ औं वार्षिक साधारण सभाले उहाँलाई ४ वर्षे कार्यकालका लागि बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको थियो ।

नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका ढकाल कोभिड–१९ महामारीका कारण उत्पन्न वित्तीय लगायतका सम्पूर्ण समस्या समाधानका लागि गठित विपद् व्यबस्थापनका साथै राष्ट्रिय सहकारी बैंकसँगको नेफ्स्कूनका साझा मुद्दाहरुका सबालमा कार्यगत एकताको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलको समेत संयोजक हुनुहुन्छ ।

स्पष्ट वक्ता र हकी स्वभावका धनी ढकाल सहकर्मीहरुबीच सहयोगी, मिलनसार र सांगठनिक कुशलताका लागि परिचित हुनुहुन्छ ।